पढ्नुहोस - पहिलो प्रेम (भाग २ ) धेरै पाठकहरुको मन जित्न सफल कथा - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Friday, March 23, 2018

पढ्नुहोस - पहिलो प्रेम (भाग २ ) धेरै पाठकहरुको मन जित्न सफल कथा

“पहिलो प्रेम” को भाग १ पढ्नका लागि यहाँ जानुहोस : https://goo.gl/eNai9o

भोलिपल्ट…. प्रेम पत्र लेखिएको सो कागतको खोस्टोलाई खल्तीमा हालेँ। १ बजेनै म सनसाइन क्याफेमा पुगेँ। मनमा ५ रेक्टर स्केलको भूकम्प गइरहेको थियो। एक बोतल पानी मगाएँ। कहिले २ बज्छ जस्तो भयो। घडी हेरे, २ बज्न अझै १५ मिनेट बाँकी थियो। मलाई भने एक युग नै बाँकी रहे झैँ लग्यो। ठिक्क २ बजे उनी आइन। सेतो बुट्टेदार कुर्ता सुरवालमा, मिठो मुस्कान लिएर।

“कफी अर्डर गरौँ ?” मैले सोधे।

“पर्दैन, के काम थियो? घरमा छिट्टै आउछु भनेर आएकी। मार्नु हुन्छ मलाई ” हतासमा भनी।

अकमकिदै बोले, “अँ.…तिमीलाई, एउटा कुरा दिनु थियो”, खल्तीबाट पत्र निकालेर दिए।

खोल्न खोज्दै भनी “के हो यो ?”

“बिन्ती, यहाँ हैन, घर गएर पढ” स्वर अडकाउँदै मसिनो स्वरमा भनेँ।

“ल, म चैँ जान्छु अब” मुख रातो पर्दै उसले भनिन्। र आफ्नो बाटो लागिन्। यता मेरो मनमा भने १० रेक्टर स्केलको भूकम्प जान थाल्यो।

– – – –

राती उनको म्यासेज आयो, “सबल, भोलि भेटौँ न। आजकै ठाउँ, आज कै समय।”

म्यासेज पढ्न साथ, मनमा हुरी चल्यो। १०७ को ज्वोरो आउला झैँ भयो। हात गोडा काप्न थाले। रातभर निन्द्रा लागेन। परीक्षाको नतिजा कुरे झैँ भयो। कोल्टे फेर्दै रात बित्यो। कहिले भोलिको २ बज्ला झैँ भयो।

भोलिपल्ट, दिउँसै १ बजे सनसाइन क्याफेमा पुगे। पानी मगाएँ। पानी निल्न पनि गाह्रो भयो । उनको प्रतीक्षामा बसी रहेँ। दिमागले काम गर्न छाडी सकेको थियो।

उनी आइन्। हातमा उनको तेही पत्र थियो, मुट्ठीमा जोडसँग कसेर पक्डिएकी। पत्रलाई मेरो हातमा थमाऊँदै “ सबल, हामी अहिले जस्तो स्थितिमा छौँ, त्यसमै सीमित होऔँ। म अहिले प्रेम सम्बन्धमा रहन चाहान्न र भविष्यमा पनि बस्दिन। म हाम्रो भविष्य खेर फाल्न चाहन्न। मलाई बिर्सिदेउ। यदि तिमीलाई बिर्सन गाह्रो हुन्छ भने, हाम्रो यो भेटलाई आब निरन्तरता दिनु हुँदैन। मलाई माफ गरिदेउ सबल।” उनले एकै सासमा भनिन्।

म स्तब्ध भए। केही बोल्नै सकिन, गला अवरुद्ध भयो, आँखाको कुनो पनि रसायो। म भुइँमा टोलाएर बसी रहे।मित्रता टुटेकोमा धेरै दुखी भएँ म। उ कतिखेर त्यहाँबाट गइन्, पत्तै पाइन। मन भक्कानियो। पुरै पृथिवी आफ्नै टाउकोमा आएर बजरिए झैँ लग्यो, त्यही पनि आफूलाई सम्हालेँ। पत्र खल्तीमा हालेँ। भारी मन लिएर घरतिर लागेँ।

घर पुगेँ, कोठाको ढोका बन्द गरे। खाटमा पल्टिएँ। आँखा दराजमा सजाएर राखिएका उनले दिएको उपहारहरुमा पर्न गयो।पापी आँखा फेरि रसाउन थाले। प्रत्येक उपहारले उनीसँग बिताएका पलको सम्झना दिलाउँदै जान्थ्यो। केही घन्टा त्यसरी नै बित्यो।

उसलाई मैले केही भन्न नै पाएको थिइन। त्यसैले फोन गरेँ उसलाई। पहिलो प्रयासमा, उनले उठाइनन्। दोस्रो पटक पनि उठाइनन्। तेस्रो पटक, फोन अफ भएको जानकारी पाएँ। भोलिपल्ट, म्यासेज पठाए, “मलाई माफ गर। हाम्रो मित्रता नटुटाउँ”, रिप्लाई आएन। अब बाँकी रहेको झिनो आस पनि मरेर गयो।

– – – – –

विगतका कुरा सम्झदा सम्झदै मध्यरात भइसकेछ। मन चञ्चल भयो। भोलि उसलाई भेट्न जो जानु छ। यत्तिका वर्ष पछि हाम्रो फेरी भेट हुँदै थियो। निदाउने प्रयास गरेँ, तर निन्द्रा लागेन। कोल्टे फेर्दा फेर्दै कुन बेला निदाएछु पत्तो भएन।

बिहानीको नौ बजे आँखा खुले। हतासमा आफ्नो काम सकेँ। १ बजे नै डेराबाट लागेँ, पल्पसा क्याफे तिर। १० मिनेट ढिला पुगेछु, उनी मेरै प्रतीक्षा गरिरहेकी रहिछिन्। सुरुमा त चिन्नै गाह्रो भयो। हाइलाइट गरेको रातो कपाल, ओठमा पनि रातै लिपिस्टिक, आँखामा मिलाएर लाएको कालो गजल र सेतो कुर्ता सुरूवालमा सजिएकी। कक्षा ९ मा उसलाई पहिलो पटक देखेको थिए, कुनै आन्जान केटी, जो मेरो दिलमा राज गरेकी थिई। आज ठिक त्यही आनुभव गरिहेको थिएँ। उही मिठो मुस्कुराहट उपहार दिँदै भनिन “अम्मामा, ३ वर्ष पछि भेट भयो, फेस टु फेस।”

“त्यही त है। तिमी त पुरै परिवर्तन भइछौ ” हाँस्दै भनेँ

उ पनि फिस्स हाँसी र सोधी, “के छ हालखबर साथी ?”

मैले भने, “ठिकै छ खबर। पढ्दै छु अहिले। तिम्रो खबर सुनाउ न।”

“म चाहीँ अहिले काम गर्दै छु, नाबिल बैङ्कमा ” जवाफ दिइन्।

केही बेर सन्नाटा छायो। के बोलौँ, कसरी बोलौँ भैरहेको थियो। सन्नाटालाइ चिर्दै, सम्प्रदाले नै कुरा सुरु गरिन, “तिम्रो फेसबुक टाइमलाइन हेरेको थिए हिजो, के हो स्ट्याटस त खतरा खतरा जाँदो रहेछ त।” कड्के नजर पर्दै सोधिन, “कसको लागि हो ?”

“त्यस्तो कसैको लागि हैन के.…. ” मेरो जवाफ सकिन नपाउँदै फेरि सोधिन्,

“प्रेमिकाको लागि जस्तो छ। सबै बुझ्छु म।” हाँस्दै भनिन्

म पनि के कम, हाँस्दै भन्दिए “हो ! प्रेमिकाकै लागि हो।”

“अहो ! को हो ? नाम के हो ? कहाँ हो घर ? सँगै पढ्ने हो ? म चिन्छु ?” एकै सासमा उनका सबै प्रश्न छताछुल्ल भयो।

“छैन प्रेमिका मेरो। जिस्केर पो भनेको त।” गम्भीर हुँदै भने

“किन नि ?” उसको ठाडो प्रश्न आयो।

म अक न वक्क भए। भन्न त मन थियो, “मैले मनबाट मनपराएकी तिमी मात्र एक हौ। मैले यो मन आरुलाई दिन नै सकिन। यो मनले अझै तिमीलाई नै रोजेको छ।” तर “त्यसै… ” भनेर टारेँ।

फेरि सन्नाटा छायो। शून्यतालाई छिचोल्दै, वेटरलाइ २ कप कफी मगाएँ। उसले त्यही बखत, आफ्नो मोबाइल झिक्दै भनिन, “मेरो वाइफ्रेन्ड हेर्छौ ?”

कान तातो भयो। प्रस्ताव हो या मेरो मन दुखाउने योजना ? मैले केही बुझ्नै सकिँन।

“वाइफ्रेन्ड रे ? तिमीले त कहिल्यै प्रेम सम्बन्धमा बस्दिन भनेको हैनौ ?” आँखा ठुला ठुला पर्दै आश्चर्यको भावले प्रश्न गरेँ।

“हो नि, तर समय सधैँ कहाँ एकनासको हुँदो रहेछ र ? कसरी भयो, किन भयो मलाई पनि थाह छैन। उसले मलाई प्रेम प्रस्ताव राख्यो, मैले नाइँ भन्नै सकिन।”

म फेरी पनि स्तब्द भएँ। आफ्नै टाउकोमाथि चट्यङ खसेझैँ भयो। दिमागले काम गर्न छाड्यो, कन्चट तातेर आयो। हजारौँ बिषालु सर्पले डसेझैँ भयो। न रुन सकेँ, न हाँस्न। मुटुमाथि ढुङ्गा राखेर भने, “देखाउ न त, को रहेछ त्यो भाग्यमानी व्यक्ति।”

मोबाइलको ग्यालरीमा रहेका फोटाहरू औलाले चलाउदै के के भनिरहेकी थिइन्, मैले केही बुझी रहेको थिइन। बुझ्ने मक्सद पनि थिएन, न बोल्ने सामर्थ्य। केही बेर पछि हामी छुट्टियौँ। सायद यसपाली भने सदाका लागि छुट्टिँदै थियौँ।

कोठामा फर्किएँ। मन भारी भयो, पानीमा भिजेको रुवाझैँ। अनायास आँखाको कुनो रसाउन थाल्यो। आफूले आफैलाई धिक्कार्दै आफैँलाई भनेँ “जिन्दगीमा कसैलाई प्रेम गर्ने हैसियत छैन तेरो।” समय बित्दै गयो, उसका याद हरू बितेनन।फेसबुकको न्युज फिडमा कहिले काहीँ उनको र उनको वाइफ्रेन्डको फोटो आउँथ्यो। मन कुड्किनथ्यो।

– – – – –

हिजो उनको विवाहको निम्तो आयो। उसैले ल्याइदिएकी थिई। सम्प्रदा निकै खुसी थिइ। उसको अनुहार उज्यालो थियो। जब्बरजस्तीको अनुलिपि हाँसो हाँस्दै, निम्तोको कार्ड समातेँ। उ गइ, उनका याद र मायाहरू गएनन्। भक्कानो फुटेर आयो, पापी आँखा फेरि रसाउन पुगे। आफूलाई सम्हाँले। खल्तीबाट चुरोट झिकेर सल्काएँ। दराजमा सम्हालेर राखेको त्यो प्रेम पत्र निकाले। एकछिन सुमसुम्याए। म त भ्रमको संसारमा बचिरहेको रहेछु झैँ भयो। त्यही चुरोट सल्काएको लाइटरले त्यो प्रेमपत्र जलाइदिएँ। मन अलि हलुङ्गो भयो। टेबलमा राखेको बिहेको निम्तोको कार्डले फेरी जिस्क्यायो। आलो घाउमा कसैले नुन चुक दलेझैँ भयो। चुरोट सिधियो, पत्र जलेर खरानी भयो, अब उनका यादहरू कहिले खरानी हुन्छन् ? त्यसैको पर्खाइमा छु।

**** समाप्त ****

No comments:

Post a Comment