पढ्नुहोस - पहिलो प्रेम (भाग १ ) धेरै पाठकहरुको मन जित्न सफल कथा - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Friday, March 23, 2018

पढ्नुहोस - पहिलो प्रेम (भाग १ ) धेरै पाठकहरुको मन जित्न सफल कथा

यस कथाका घटना तथा पत्रहरू काल्पनिक हुन्। कसैको वास्तविक जीवन सँग मेल खाएमा, संयोग मात्र हुनेछ।

कामको थकानले गर्दा ओछ्यानमा ढल्केको थिए। दिनभरिका घटनाहरू मनमा खेलाउँदै थिए। अचानक मोबाइलको घन्टी बज्यो। हेरेँ, नयाँ नम्बर रहेछ। उठाउ नै लाग्दा काटियो। कसैले झुक्किएर डायल गर्‍यो होला भन्ने सम्झेर वास्ता गरिन। फोन फेरि बज्यो, त्यही नम्बर। फोन उठाएँ “हेल्लो”

उताबाट केटीको मधुर स्वर कानमा गुञ्जियो “हेल्लो, सबल हैन ?”

“हो ! के काम पर्‍यो होला ?” जवाफका साथ साथै प्रश्न सोधे

“मलाई चिनेनौ ? म सम्प्रदा, तिम्रो मिल्ने साथी।” हतासमा उसले भनी

विगतका ती दिनहरू फिल्मका रिलझैँ आँखैभरि सरसरी चले जस्तो भयो। तिनै सम्झनाका एउटा टुक्रा थिइ सम्प्रदा।

“अहो ! कसरी चिन्नु त ? नम्बर बदलेकी रहिछौ। ”

“अँ त ” उसले छोटो जवाफ दिई।

मुटुले बोल्यो “मन त पहिलै बदलेकी थियौ, फोन नम्बरको त के कुरा ?” तर मुटुले बोलेको कुरा, रुद्रघन्टीबाट परिवर्तन भएर मुख सम्म आइपुग्दा “कता छौ अहिले ?” भन्न पुगेँ।

“म अहिले काठमाडौँ आएको छु। तिमीलाई एकचोटी कस्तो भेट्न मन छ। फुर्सद छ तिमीलाई ? भोलि भेटौ न हुन्न ?” एकै सासमा भनी।

फुर्सद त थिएन, त्यही पनि भने, “छ, भोलि भेटौँ न त, बानेश्वोरको पल्पसा क्याफेमा, २ बजे।”

“हुन्छ, भोलि त्यहीँ भेटेर कुरा गरौँला। अहिलेलाई बाइ। ” उसैले फोन राखी …

——-

हाम्रो पहिले भेट कक्षा नौ मा भएको थियो। उ स्कुल ट्रान्स्फर गरेर म पढ्ने स्कुलमा आएकी थिई। छोटो कपाल, दुई चुल्ठी बटेकी, पातली, नाकमा फुली, आँखामा गाजल, गोरी, बिछट्टै राम्री। स्कुल ड्रेस झन् कति सुहाएको। पहिलो नजरमै उनीसँगै प्रेम बसेको थियो। बालापनको प्रेम।

उसलाई देखेँ, तर उसँग बोल्ने हिम्मत थिएन ममा । सधैँ साथीहरू माझ हिरो पल्टिने म, उसको त्यो रूप र नजरले घायल भएको थिए। बोल्ने आँट खै कता हरायो पत्तो पाइन। आँखैले उनीसँग कुरा गर्‍यो, र मनले प्रेम। त्यो प्रेम व्यक्त गर्नसक्ने न मसँग खुबी थियो, न त उसँग बोल्ने हिम्मत नै। लाचार थिएँ म। बस, कक्षामा उसैलाई हेरेर टोलाउथेँ, चित्त बुझाउथेँ। कसैले उसलाई नराम्रो भन्दा, आफैलाई नराम्रो भने झैँ लाग्थ्यो र कसैले उसलाई अरू कुनै केटाको नामले जिस्काउँदा मेरो मनमा पहिरो आउथ्यो। हामी बिच बोलचाल भएको थिएन। कदाचित नजर जुध्दा, एक मुस्कान साटासाट हुन्थ्यो बस !

एक दिन, साथीहरूसँग गफ गर्दै बसिरहेको थिए। उसलाई कक्षामा प्रवेश गरेको देखे, तर नदेखे जस्तो गरे। उ सरासर मेरै सामुन्ने आएर भनी “मलाई तिम्रो नेपालीको नोट देउ न।” शरीरमा करेन्ट लागे झैँ भयो। केही नबोली, झोलाबाट नोट झिकेर दिएँ। उसले चुपचाप समाती।“ धन्यवाद !” भन्दै आफ्नो बाटो लागी। साथीहरूलाई के चाहियो र। जिस्क्याउन थाले। बाहिर रिस बल्यो, भित्र लाज र प्रफुल्ल मन। साथीहरूले जिस्क्याएको उसले पनि सुनिछ क्यारे, पछाडि फर्केर मुस्कुराई। मुटुमै थप्पड हनेझैँ भयो। प्रेम र माया मिश्रित थप्पड।

भोलिपल्ट, छुट्टी हुने बेला, मिठो मुस्कान उपहार दिँदै मेरो नोट फिर्ता गरी । नोट झोलामा राखेँ चुपचाप…।

घर पुगेँ। त्यही नेपाली कापी खोलेँ, एकछिन सुम्सुम्याएँ। मनमनै उसँग संवाद गरे। हेर्दै जाँदा, कापीको एउटा पृष्टले मेरो ध्यान खिच्यो। उसका बाटुला अक्षरले लेखेकि थिई, “धन्यवाद नोटको लागि। तिमि मसँग बोल्दैनौ, त्यही भएर यो पन्नाको माध्यमबाट तिमीसँग बोलेको । कहिले काँही त बोल्ने गर।”

यति पढेर खुसी पनि भए, दुःखी पनि। खुसी यस कारणले कि उसैले जो लेखेकी थिई, र दुःखी यस कारणले कि यत्रो दिन सम्म म नै किन नबोलेको हूँला भनेर आफै माथि।

हो! त्यही क्षण थियो, हाम्रो मित्रतामा घामको किरण प्रवेश गरेको र आशा थियो, कसो एक दिन हाम्रो प्रेममा जुन पनि किन नलाग्ला ?

हामी चाँडै मिल्ने साथीमा परिरणत भयौ। दिन बित्दै गए, सम्बन्ध मजबुत हुँदै गयो। उनको मनमा म को थिएँ, मलाई अझै थाह थिएन, तर उनी मेरो सबैथोक थिइन्। समय बित्दै गयो …

——-

एसएलसी परीक्षाको नतिजा आयो।

उनको र मेरो कलेज भने छुट्टा छुट्टै हुन पुग्यो। उ कमर्स पढ्ने भई, म विज्ञान। कलेज फरक भएर के भयो त, थियौँ त हामी एउटै सहरमा। फोनमा कुरा हुन्थ्यो, एसएमएस हुन्थ्यो र फेसबुकमा च्याट।

साथीहरूले सोध्दा, उ “हाम्रो सम्बन्ध असल र मिल्ने साथीको मात्र हो” भन्दथी। “साथी” हो यही शब्दसँग मलाई रिस उठथ्यो। म उसलाई मन पराउथेँ। प्रेम प्रस्ताव राख्दा, यही “साथी” को नाता पनि टुट्ने डर थियो। के गरौँ, के गर्दा ठिक होला, मैले केही सोच्नै सकिरहेको थिइन। एक दिन हिम्मत जुटाए।उसलाई एसएमएस गरेँ, “भोलि तिमीलाई भेट्न मन छ, सनसाइन क्याफेमा म तिमीलाई २ बजे कुरीरहेको हुनेछु। आउ है प्लिज।”

भेट्ने त भइयो, तर प्रेम प्रस्ताव राख्ने कसरी ? दोधारमा परेँ। त्यसैले एउटा प्रेम पत्र लेख्ने विचार गरे। “प्यारी सम्प्रदा,

हाम्रो मित्रता निकै प्रगाढ छ। म चाहन्न कि हाम्रो यो मित्रता टुटोस्, र हामी दुई फेरी अनजान व्यक्ति होऔँ। धेरै भूमिका नबाँधी म मेरा मनका कुरा यस पत्रमा व्यक्त गर्दैछु। म तिमीलाई प्रेम गर्छु सम्प्रदा । पहिलो भेटमा नै तिमी मेरो मुटुमा बस्न सफल भएकी थियौ । जब हामी साथी भयौँ, अझ भनौँ मिल्ने साथी, थाह छैन कसरी भयो किन भयो, म तिमीलाई प्रेम गर्न थालेँ। म भन्दिन मैले तिमीलाई निस्वार्थ प्रेम गरेको छु। प्रेम कहिल्यै निस्वार्थ हुन सक्दैन, किनकि प्रत्येक प्रेममा आफूले चाहेको व्यक्ति पाउने स्वार्थ लुकेको हुन्छ। हो, मेरो स्वार्थ भनेकै तिमीलाई पाउनु हो। जब तिमी मेरो जीवनमा आयौ, जीवनमा वसन्त छाएको छ। तिमी बिनाको एक पल पनि,मेरो जीवन एक शताब्दी पानी नपरेको मरूभूमी सरह हुन्छ। आज हाम्रो मित्रता र मेरो जीवनको खुसीलाई, चुलेसीको धारमा राख्दै, यस पत्र मार्फत तिमीलाई प्रेम प्रस्ताव राख्दै छु। तिमीलाई नपाउन्जेल, पत्रको जवाफ कुर्ने छु। तिमीलाई पाएपछि तिमीलाई कुर्नेछु। उही तिम्रो, सबल ” क्रमश.. पढ्नुहोस - पहिलो प्रेम (भाग २ ) धेरै पाठकहरुको मन जित्न सफल कथा -> https://goo.gl/BxV1TP

No comments:

Post a Comment